नियम ३३
श्रेस्तेदारको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारका अतिरिक्त श्रेस्तेदारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा दर्ता गर्न ल्याएको उजुरी निवेदन, प्रतिउत्तर र पुनरावेदनपत्र लगायतका लिखतहरू हेरी जाँची रीत पुगेको भए दर्ता गर्ने वा दर्ता गर्न नमिल्ने भए कारण जनाइ दरपीठ गर्ने,
(ख) मुद्दामा पेश भएका नक्कल कागजलाई सक्कलस“ग भिडाइ ठीक देखिएमा प्रमाणित गर्ने, सक्कलमा केही कैफियत देखिएमा सो कैफियत जनाइ सम्बन्धित पक्षको सहीछाप गराइ राख्ने,
(ग) उजुरी निवेदन, पुनरावेदनपत्र तथा सोको प्रतिउत्तरपत्र साथमा पेश हुन आएको कागज ठीक छ छैन जाँच्ने,
(घ) म्याद जारी गरी तामेल गराउने,
(ङ) मुद्दा मामिलामा कानुन बमोजिम मनासिब माफिकको कारण जनाइ तारीख तोकी दिने,
(च) प्रचलित कानुन बमोजिम वारिस लिने र मुद्दा सकार गराउने,
(छ) इजलासबाट भएको आदेश बमोजिमको काम कारवाही चाँडो कार्यान्वयन गर्ने, गर्न लगाउने,
(ज) इजलासबाट भएको आदेश बमोजिम धरौटी वा जमानत लिने,
(झ) दर्ता किताब समेतका श्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने,
(ञ) फाँटवालाले पेश गरेको मुद्दाको टिपोट जाँची दस्तखत गरी मिसिल सामेल राख्ने,
(ट) कर्मचारीहरूको वैयक्तिक अभिलेख राख्ने,
(ठ) आदेश तथा निर्देशनहरू सिलसिलेवार ढंगले सुरक्षित राख्ने ।